19 Feb 2018

नयां प्रमुख जिल्ला अधिकारीलाई संघद्धारा स्वागत

२०७४ असोज २६,  

जिल्ला प्रशासन कार्यलय पाल्पामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललार्ई  संघले बिहिबार स्वागत गरेको छ । कार्यक्रम संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाललार्ई  स्वागत सम्मान स्वरुप पाल्पाली ढाका टोपी र खादा ओढाउनुका साथै संघका प्रकाशनहरु प्रदान गर्नु हुँदै अध्यक्ष श्रेष्ठले संघले विगतमा जिल्लाको आर्थिक सामाजिक विकासका लागि गरी आएका कार्यहरुको जानकारी गराउंदै विगतमा प्रशासनको सदाशयतापूर्ण सहयोगका कारण विभिन्न किसिमका उल्लेखनीय कार्यहरु सम्पन्न गर्न सकेको बताउनु हुंदै वर्तमान प्रमुख जिल्ला अधिकारीको कार्य अवधिमा पनि सहयोग पाउने आशा व्यक्त गर्नु भएको थियो ।     कार्यक्रममा संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा गरी आएका गतिविधिहरुको चर्चा गर्नु हुंदै जिल्लामा यस संघ र स्थानीय प्रशासन बीच नङ र मासुको सम्बन्धलाई वर्तमान प्रशासनले निरन्तरता दिनुपर्ने बताउनु भएको थियो । साथै पाल्पाको व्यापारीक, व्यवसायीक, पर्यटन सम्पुर्ण विकासमा बुटवल तानसेन सडकखण्डको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको र यसको समस्याको दीर्घकालीन समाधानमा जोड दिनुपर्ने बताउनुभएको थियो ।     स्वागत कार्यक्रममा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले संघबाट गरिएको स्वागत प्रति आभार प्रकट गर्दै विशेष गरि तानसेन बुटवल सडक खण्डमा सुधार एवं वैकल्पिक बाटो निर्माणको कार्य पहिलो प्राथमिकतामा राखेर खटेर लाग्ने बताउनुभएको थियो । साथै स्वदेशी बस्तुको उत्पादनमा जोड दिई प्रयोग गर्ने बानी बसाल्न समेत अनुरोध गर्नुभएको थियो यसले गर्दा निजी क्षेत्रको भूमिका अझ बढ्नेछ भन्नु हुंदै जिल्लामा शान्ति, सुव्यवस्था कायम गर्न प्रशासन र निजी क्षेत्रको सम्बन्ध नङ र मासुको सम्बन्ध सरह हुनुपर्ने औंल्याउनु भएको थियो । कार्यक्रममा उपस्थित कार्य समितिका पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु,, आमन्त्रित सदस्य उपसमितिका संयोजकहरु, कर्मचारीहरुको परिचय सहित सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव श्री यादव सिंह कार्कीले गर्नु भएको थियो ।