20 Oct 2016

नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा सम्पन्न, महासंघको विधान सर्वसम्मतीले पारित

नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा कार्तिक ४ गते शुक्रबार काठमाडौंमा सम्पन्न भयो । विशेष साधारण सभाको समुद्घाटन अध्यक्ष पशुपति मुरारकाले गर्नुभयो । विधान संशोधन मुख्य एजेण्डा रहेको विशेष साधारण सभाले आफ्नो पूर्ण बहुमतद्वारा महासंघको विद्यमान विधान २०४९ को छैठौं संशोधन गरेको छ । सभाले प्रस्तावित संसोधन अनुसारनै विधान सर्वसम्मत रुपमा पारित गर्दै केही भाषागत कमजोरीहरुका सम्बन्धमा विज्ञहरुको समेत सहयोग लिई संशोधनलाई अन्तिम रुप दिने सर्वसम्मत निर्णय गरेको छ । विशेष साधारण सभाको दोश्रो पूर्ण बैठकमा महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठबाट गणपुर संख्या घोषणा पश्चात विधान संशोधन कार्यदलका संयोजक महासंघका पूर्व अध्यक्ष श्री चण्डिराज ढकालले प्रस्तावित विधान संशोधन मस्यौदा सभा समक्ष प्रस्तुत गर्नुभयो । तत्तपश्चात विधान संशोधनका विषयमा आएका संशोधन प्रस्तावहरु माथि सभामा गहन छलफल भयो । सभामा आएका प्रतिनिधिहरुको भावनालाई समेटेर सभाले प्रस्तावित विधान सर्वसम्मतीले पारित भएको घोषणा गर्यो।

कार्यक्रमको अन्त्यमा सभालाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष पशुपति मुरारकाले संशोधित विधानले महासंघलाई मुलुकको संघीय संरचना अनुसार अगाडी बढाउंदै निजी क्षेत्रलाई एक सशक्त क्षेत्रको रुपमा अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो । विधान संशोधन कार्यदलका संयोजक चण्डिराज ढकालले समयको माग, नयां संविधानमा मर्म, हाम्रै जस्तो राज्य व्यवस्था भएका अन्य मुलुकहरुका समकालिन संघ संस्थाहरुको अभ्यास समेतका आधारमा मुलुकको संविधानले परिकल्पना गरेको व्यवस्था अनुसार निजी क्षेत्रलाई अगाडी बढाउन महासघको संशोधित विधान कोशेढुंगा सावित हुने विश्वास प्रकट गर्नुभयो ।