7 Jan 2017

पाल्पा उद्योग वाणिज्य संघको ६१औं साधारण सभा सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ६१औं साधारण सभा २०७३ पौष २३ गते शनिबारका दिन बालमन्दिर, तानसेनको सभा कक्षमा सम्पन्न गरिएको थियो । साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री पशुपति मुरारकाले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको कार्यक्रममा संघका अध्यक्ष श्री मोहन प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । महासचिव यादव सिंह कार्कीले संघबाट भए गरेका विभिन्न कार्यक्रमहरु लगायत सदस्यहरुको हकहितको संरक्षण र संवद्र्धनका साथै जिल्लाको व्यावसायिक क्षेत्र, पर्यटन क्षेत्र, सामाजिक विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरुलाई प्रतिवेदनको रुपमा प्रस्तुत गर्नु भएको थियो सो कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष शैलेन्द्र भटराईबाट धन्यवाद मन्तव्य व्यक्त गरिएको थियो । सभा संचालन महासचिव श्री यादव सिंह कार्कीले गर्नु भएको थियो ।

समुद्घाटन समारोह पश्चात आयोजित बन्द सत्रमा वाणिज्य उपाध्यक्ष शैलेन्द्र भटराईको स्वागत मन्तव्य पश्चात महासचिव यादव सिंह कार्कीबाट प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक प्रसाद पाण्डेले आर्थिक वर्ष ०७३÷०७४ को लागि पेश गर्नु भएको रु. १ करोड १६ लाख २२ हजार बराबरको अनुमानित बजेट माथि व्यापक छलफल पश्चात पारित गरिएको थियो । बन्द सत्रमा संघका सदस्य श्री महेन्द्र खाती, श्री शशि श्रेष्ठले विभीन्न बिषयका सम्बन्धमा जिज्ञासा राख्नुका साथै व्यवसायिक हक हितका लागि एवं संस्थागत विकासका लागि उपयोगी सुझावहरु राख्नु भएको थियो ।