स्वर्गीय राजेन्द्र श्रेष्ठको सम्झनामा शोकसभा
पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको गत बैशाख २९ गते शुक्रबारका दिन विहान ८।२५ बजे ४८ बर्षको उमेरमा हृदयघातका कारण असामयिक निधनपछि, विहिबार पाल्पा उद्योग वाणिज्य संघले शोकसभा गरेको छ ।
पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा भएको शोकसभामा बोल्दै संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले स्वर्गीय राजेन्द्र प्रसाद श्रेष्ठले संघमा गरेका योगदानको बारेमा बताउदै श्रेष्ठको निधनले पाल्पा उद्योग वाणिज्य संघ परिवार अत्यन्त मर्माहत भावविबहल र स्तब्ध भएको बताउनुभएको थियो । साथै दिवंगत आत्माको बैकुन्ठमा बास होस भन्दै श्रद्धान्जली अर्पण गर्नुभएको थियो । श्रेष्ठको निधनबाट समग्र पाल्पाले कुशल उद्योगी एवं समाजसेवी गुमाएको भन्दै समग्र पाल्पा जिल्लाको उद्योग व्यवसायमा अपुरणीय क्षती भएको बताउनुभएको थियो ।
शोकसभामा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले दिवंगत श्रेष्ठ मिलनसार, सहयोगि एवं समाजसेवि व्यत्तित्व भएको बताउनुभएको थियो । साथै शोकाकूल परिवारजमा पर्न गएको बर्ज्रपात प्रति धैर्यधारण गर्न सक्ने शक्ति भगवाने प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्नुभएको थियो ।
शोकसभामा पाल्पाली उद्योगी, व्यापारी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, एवं पत्रकारहरुको उपस्थिती रहेको थियो । उक्त शोकसभाको संचालन पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव सिंह कार्कीले गर्नुभएको थियो ।